अबदेखि संसदमा कालो चश्मा निषेध !

काठमाडौं । संसद्को गरिमा र मर्यादामाथि प्रश्न उठ्न थालेपछि प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर प्रवेश गर्न सभामुख डोलप्रसाद अर्यालले पूर्ण रूपमा रोक लगाएका छन्। सभामुख अर्यालले बैठक कक्षभित्र सांसदहरूलाई तोकिएको मर्यादित पोसाक र आधिकारिक लोगो अनिवार्य रूपमा लगाएर मात्र उपस्थित हुन कडा निर्देशन दिएका हुन्।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा सांसद खगेन्द्र सुनार लगायतका नेताहरूले कालो चस्मालाई आफ्नो शैलीका रूपमा संसद्‍ बैठकभित्रै निरन्तर प्रयोग गरेपछि संसदीय मर्यादा र अनुशासन कायम राख्न सभामुखले यो कदम चालेका हुन्।

बुधबार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को अनुशासन र बैठक कक्षभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रणका विषयमा गम्भीर छलफल भएको थियो। छलफलका क्रममा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले स्वयं प्रधानमन्त्री र मन्त्रीहरू नै कालो चस्मा लगाएर बैठकमा सहभागी हुने गरेको विषय उठाउँदै ध्यानाकर्षण गराएकी थिइन्। त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत संसद्को नियम र मर्यादा पालना गराउने मुख्य जिम्मेवारी सम्बन्धित दलका प्रमुख सचेतक तथा सचेतकहरूको भएको स्पष्ट पार्दै कालो चस्मा हटाउन र तोकिएको ड्रेसकोड कडाइका साथ पालना गराउन निर्देशन दिए। बैठकमा रास्वपा सचेतक क्रान्तिशिखा धितालले पनि कोट र लोगोको अनिवार्यतामा जोड दिएकी थिइन्।

बैठकमा कालो चस्माको प्रतिबन्धसँगै संसद् चल्दै गर्दा सेयर कारोबार गर्ने लगायतका अवाञ्छित र गैरजिम्मेवार गतिविधिहरू रोक्नका लागि समेत सांसदहरूलाई सचेत गराइएको छ। सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार संसद्‍भित्र संसदीय मर्यादाविपरीतका दृश्यहरू सामान्य बन्दै गएको जनगुनासो आएपछि यो नयाँ कडाइ लागू गरिएको हो। यस निर्देशनपछि अब प्रधानमन्त्रीदेखि सांसदहरूसम्म सबैले बैठक कक्षभित्र कालो चस्मा खोलेर तोकिएको औपचारिक पोसाकमै उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था बनेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज