सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने कानून व्यवसायीमाथि परिषद्को कडा निगरानी, कारबाहीको चेतावनी

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले सामाजिक सञ्जालमार्फत अदालत र अन्य कानून व्यवसायीहरू विरुद्ध अमर्यादित, अपच्य र आपत्तिजनक टिप्पणी गर्ने कानून व्यवसायीहरूमाथि कडा निगरानी राख्दै कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। परिषद्बाट प्रमाणपत्र लिएका र अद्यावधिक भएका कतिपय कानून व्यवसायीहरूले सामाजिक सञ्जालमा न्याय प्रणाली र कानून व्यवसायीहरूप्रति अविश्वास पैदा गर्ने, मानमर्दन गर्ने तथा व्यावसायिक गरिमा विपरीतका सामग्री र तस्बिरहरू पोस्ट गरेको भन्दै परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता गतिविधिहरू कानून व्यवसायीको आचरण सम्बन्धी नियमावली, २०७९ को बर्खिलाप रहेको ठहर गर्दै परिषद्को २०८३ वैशाख ९ गतेको बैठकले दोषीमाथि कारबाहीका लागि आवश्यक कदम चाल्ने निर्णय गरेको हो।

परिषद्ले जारी गरेको सूचना अनुसार अबदेखि कुनै पनि कानून व्यवसायीको सामाजिक सञ्जाल एकाउन्टबाट अमर्यादित टिप्पणी वा पोस्ट भएको पाइएमा त्यसको अनुगमन गरी सम्बन्धित व्यवसायीको व्यक्तिगत अभिलेखमा समावेश गरिनेछ। यदि कुनै निकायबाट आचरण सम्बन्धी अभिलेख माग भएमा उक्त बेहोरा समेत पठाइने र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने परिषद्ले स्पष्ट पारेको छ। यस्तो अनुगमन कार्यका लागि परिषद्ले सहायक न्यायाधिवक्ता नितेशबाबु त्रिताललाई जिम्मेवारी तोकेको छ।

कानून व्यवसायीको मर्यादा कायम राख्नका लागि सबैको सहयोगको अपेक्षा गर्दै परिषद्ले यस्ता गतिविधिबारे कुनै गुनासो वा सुझाव भए नियमित टेलिफोनमार्फत जानकारी गराउन समेत अनुरोध गरेको छ। सचिव श्रीराम खनालद्वारा जारी सूचनामा सामाजिक सञ्जालमा गरिने पोस्ट वा कमेन्टहरू सम्बन्धित व्यक्ति स्वयंले गरेको हो वा नामको दुरुपयोग भएको हो भन्ने विषयमा समेत सुक्ष्म अनुगमन गरिने उल्लेख छ।

सम्बन्धित समाचार

ताजा न्यूज