काठमाडौं । अधिवक्ता तहको लाइसेन्स परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको नेपाल कानून व्यवसायी परिषद्कै जिम्मेवार ओहोदामा रहेका व्यक्ति र विज्ञहरू निजी इन्स्टिच्युटमा पढाउन जाने र उनीहरू नै परीक्षाको मुख्य प्रक्रियामा हाबी हुने बेथितिले अन्ततः बिदा पाएको छ । परिषद्को परीक्षा प्रक्रियामा संलग्न विज्ञहरूले नै बाहिर तयारी कक्षा सञ्चालन गर्दा प्रश्नपत्रको गोपनीयता र परीक्षाको स्वच्छतामाथि बारम्बार गम्भीर प्रश्न र गुनासो उठ्दै आएको थियो ।
यसअघि कानून खबर लगायतका सञ्चारमाध्यमले परिषद्का जिम्मेवार व्यक्तिहरूको यस्तो दोहोरो भूमिका र स्वार्थको द्वन्द्वबारे निरन्तर समाचार सम्प्रेषण गरेको थियो । परिषद्को २०८३ वैशाख ९ गतेको बैठकले यो बेथिति रोक्ने निर्णय गरेको हो ।
आफ्नै जनशक्ति र विज्ञहरूबाट भइरहेको यो अनुचित कार्यले परीक्षाको निष्पक्षतामाथि नै चौतर्फी आलोचना भएपछि परिषद्ले यस्तो निर्णय लिएको छ । उल्लेखित सूचना अनुसार अबदेखि अधिवक्ताको तयारी कक्षा सञ्चालन गर्ने कुनै पनि निजी संस्थामा प्रशिक्षक वा कुनै पनि भूमिकामा संलग्न रहेका व्यक्तिहरूलाई परिषद्ले लिने परीक्षाको कुनै पनि चरणमा सहभागी गराइने छैन । यो निर्णयसँगै अब निजी इन्स्टिच्युटमा व्यावसायिक प्रशिक्षण दिने व्यक्तिहरूले प्रश्नपत्र निर्माण गर्ने, परीक्षा सञ्चालन गर्ने वा उत्तरपुस्तिका परीक्षण गर्ने जस्ता निर्णायक कार्यहरूमा कुनै पनि भूमिका पाउने छैनन् ।
विगतदेखि नै परीक्षाका विभिन्न चरणमा संलग्न व्यक्तिहरू नै तयारी कक्षामा प्रशिक्षकका रूपमा सहभागी हुँदा परीक्षाको मर्यादामा आँच पुगेको अवस्थालाई मध्यनजर गर्दै परिषद्ले यो एक्सन लिएको हो । सचिव श्रीराम खनालद्वारा जारी सूचनामा परीक्षालाई थप मर्यादित, निष्पक्ष र गरिमामय बनाउन परिषद् सदैव तत्पर र चनाखो रहेको दाबी गरिएको छ । निजी लाभका लागि परीक्षाको गोपनीयतासँग खेल्ने प्रवृत्तिलाई रोक्ने यो कदमले आगामी दिनमा हुने अधिवक्ताको लाइसेन्स परीक्षालाई थप पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।

