दाङ । चार वर्षअघि कैलालीका युवा भूपेन्द्र बडुवालको वीभत्स हत्या प्रकरणमा दाङ जिल्ला अदालतले अन्तिम फैसला सुनाएको छ। जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले मंगलबार फैसला सुनाउँदै घटनामा संलग्न ठहरिएका ६ जनालाई जीवन रहेसम्म कारावास र थप ७ जनालाई जन्मकैद (२५ वर्ष कैद) सजाय तोकेको हो।
अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मुख्य प्रतिवादी नवीन रावल, रोशनबहादुर शाही, चिरञ्जीवी जंग शाही, आर्यान देवकोटा, रोहित आले र हिमाल शाहीलाई आजीवन कैद सजाय सुनाइएको छ। यस्तै, दिपेन्द्र शाही, मदन शाही, हेमन्त शाही, निशान्त मल्ल, शोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई जन्मकैदको फैसला भएको छ।
अदालतले सजाय पाएका १३ जनाबाट दामासाहीका आधारमा पीडित परिवारलाई कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। घटनाका एक मुख्य आरोपी लोकजंग शाही फरार रहेकाले उनको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ।
यस प्रकरणमा प्रतिवादी बनाइएका अन्य सात जनाले भने अदालतबाट पूर्ण रूपमा सफाइ पाएका छन्। सफाइ पाउनेमा अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ रहेका छन्।
२०७८ साल कात्तिक २३ गते राति कैलालीको टीकापुर नगरपालिका–१ मा २३ वर्षीय भूपेन्द्र बडुवालको लखेटी–लखेटी धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। फुटबल प्रतियोगिता हेरेर घर फर्किने क्रममा बडुवालमाथि करिब दुई किलोमिटर टाढासम्म लखेटेर आक्रमण गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका बडुवाललाई टीकापुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी अनुसन्धान अनुसार घटनाको मुख्य कारण दुई आपराधिक समूहबीच खोला तथा नदीजन्य पदार्थ र स्थानीय वन पैदावारको ठेक्कामा वर्चस्व कायम गर्ने विषयमा उत्पन्न विवाद र पुरानो रिसइबी रहेको थियो। तत्कालीन कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले सार्वजनिक गरेको विवरणमा आर्थिक लाभ र हैकमकै कारण समूहबीच मतभेद बढ्दै जाँदा हत्या भएको निष्कर्ष निकालिएको थियो।
कैलाली प्रहरीले २०७८ फागुन २६ गते अनुसन्धान पूरा गरी २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो। पुस २३ गतेदेखि सुरु भएको निरन्तर सुनुवाइ पुस २८ गते सम्पन्न भई पुस २९ गते अदालतले फैसला सुनाएको हो।

