संसद् विघटन असंवैधानिक कदमः बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले हालै भएको संसद् विघटनलाई असंवैधानिक कदमको संज्ञा दिएका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानको चौकटीभित्र रहेर मात्रै राजनीतिक परिवर्तन स्थायी र सुदृढ हुने बताएका थिए।

“संसद् अनाहक विघटन गरियो, यो हुनुहुँदैनथ्यो,” मिश्रले भने, “परिवर्तन जरुरी छ, तर त्यो संविधानमै उल्लेखित प्रावधानअनुसार गर्दा मात्र दीर्घकालीन हुन्छ।”

उनका अनुसार आन्दोलनहरूले तत्कालीन परिस्थितिमा संविधान र कानून नमान्ने देखिए पनि उपलब्धि सुरक्षित राख्न कानूनी मार्गअनुसार अघि बढ्नैपर्ने हुन्छ। “वैधता प्राप्त गर्न विधि र नियममा बाँधिनैपर्छ,” उनले जोड दिए।

मिश्रले नयाँ जनादेश आवश्यक भएको स्वीकार गर्दै त्यसलाई पनि संविधानको धारा र चौकटीभित्रै खोज्नुपर्ने धारणा राखे। “देशमा रहेका शक्तिहरू ताजगीसहित चुन्न आवश्यक हुन्छ, तर त्यो फ्रेस म्यान्डेट पनि संविधानकै बाटोबाट हुनुपर्छ,” उनले स्पष्ट पारे।

बार एसोसिएशनले संसद् विघटनपछि नै आधी रातमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो। मिश्रले तोकिएकै मितिमा  निर्वाचन हुनेमा आफूहरू आश्वस्त रहेको पनि बताए।

सम्बन्धित समाचार

ताजा न्यूज