काठमाडौं । काठमाडौँ जिल्ला अदालत परिसरको सुरक्षामा खटिएका एक प्रहरी जवान र कानुन व्यवसायी अधिवक्तावीच अदालत परिसरमै हात हालाहाल भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा ५ घर भई हाल बीचकाठमाडौँ जिल्ला अदालतमा सुरक्षार्थ कार्यरत जीवन छिनाल र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा ६ की कानून व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाबीच हात हालाहाल भएको हो ।
आइतबार दिउँसो १ः२० बजे काठमाडौँ जिल्ला अदालत परिसरको ३ नं गेटबाट प्रवेश गर्ने विषयमा अधिवक्ता थापा र प्रहरी जवान छिनालबीच भनाभन भएको थियो । यहीक्रममा दुवैबीच हात हालाहाल भएको बताइएको छ । जिल्ला अदालतको उक्त गेटबाट कानुन व्यवसायी अधिवक्तालाई मात्रै प्रवेशको व्यवस्था छ । तर अधिवक्ता थापाले आफ्ना सेवाग्राहीलाई समेत त्यहि गेटबाट आफूसँगै प्रवेश गराउन खोजेकोले हात हालाहालको अवस्था आएको प्रहरी जवानको दावी छ । प्रहरी जवान छिनालले उक्त गेटबाट कानुन व्यवसायी बाहेक अन्यले प्रवेश गर्न नपाउने बताएपछि अधिवक्ता थापाले जबर्जस्ती गरेको उल्लेख गरेका छन् । उनले आफूले अधिवक्ता थापालाई सम्झाउन खोजेको तर उनले उल्टै तथानाम गाली गरेर आफूलाई गालामा चड्कन हानेको आरोप लगाएका छन् ।
गालामा चड्कन हानेपछि आफूले अधिवक्ता थापालाई धकेलिदिएको र सोहीक्रममा आफ्नो नङले अधिवक्ता थापाको गालामा कोतरेको बताएका छन् । घटना लगत्तै प्रहरी जवान छिनालले जिल्ला अदालतमा रहेका आफ्ना इन्चार्जलाई जानकारी गराउँदै प्रहरी वृत्त सिंहदरवार काठमाडौँमा जाहेरी दरखास्त दिएका छन् । जाहेरी दरखास्तमा प्रहरी जवान छिनालले सार्वजनिक स्थानमा गाली गलौज गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेको हुँदा निज प्रतिवादी नानी थापा भन्ने लक्ष्मी थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) बमोजिम कारवाहीको माग गरेका छन् ।
प्रहरी जवान छिनालले जाहेरीमा अधिवक्ता थापाले ३ नम्बर गेटबाट सेवाग्राहीलाई समेत लिएर प्रवेश गर्न खोजेपछि आफूले रोकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, यहाँबाट कानुन व्यवसायी भन्दा बाहेक अरुलाई जान निषेध छ भन्दा उहाँले मलाई, यहाँबाट पब्लिक छिर्दा तपाईँको अदालत पल्टेर थिच्छ ? यहाँबाट जाने नहुने हो ? यहाँबाट जान नहुने के छ ? भनेपछि मैले उहाँलाई मेडम, यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिकलाई नछिराउनु भन्ने आदेश छ, हामीले त आदेशको पालना मात्र गर्ने हो भन्दा निजले मलाई गाली गलौज गरेपछि मैले उहाँलाई मेडम तपाईंको चित्त बुझ्दैन भने तपाई प्रशासनमा गएर कुरा गर्न सक्नु हुन्छ भनेको उल्लेख गरेका छन् । त्यसपछि हामीलाई जे आदेश गरेको छ, हामीले त्यही पालना गर्ने हो भन्दा मलाई एक्कासि गालामा चड्कन हानेपछि मेरो आँखा तिरिमिरी भयो र फेरी मलाई हान्न लाग्नु भएकोमा मैले निजलाई आफ्नो प्रतिरक्षाका लागि हातले हुत्याई दिएको थिए। मैले हातले हुत्याई दिने क्रममा मेरो हातको नङ्ले निजको गालामा लागेको थियो।
यस सम्बन्धमा अधिवक्ता थापा भने आफू ३ नम्बर गेटमा सेवाग्राहीसँगै पुगेको तर प्रहरी जवानले रोकेपछि आफूले सेवाग्राहीलाई फर्काइदिएर एक्लै प्रवेश गरेको बताइन । उनले भनिन्, त्यो गेटबाट अधिवक्ता बाहेक अरुलाई प्रवेश मिल्दैन भन्ने थाहा थियो । म कालोकोटसहित अधिवक्ताकै युनिफर्ममा थिँए । ती प्रहरी जवानले मसँग परिचयपत्र मागे । पानी परिरहेको थियो । एउटा हातमा छाता थियो । म दिनैपिच्छे यहि गेटबाट हिडिरहेको मान्छे यत्तिकैमा उनले मलाई तुच्छ शब्दको प्रयोग गर्दै गाली गरे । मँ अगाडी बढिसकेको थिए । उनले गाली गरेको सुनेर मैले किन त्यस्तो भनेको भनेर ती प्रहरीलाई भनेकी मात्रै हुँ । उनले औला उठाउँदै फेरी गाली गरे र मलाई मुक्का हानेका हुन ।
अधिवक्ता थापाले आफूले प्रहरी जवानलाई हातपात नगरेको दावी गरिन । मैले हातपात गरेको छैन । मलाई महिला देखेरै ती जवानले यस्तो काम गरेका हुन । त्याहाँ यदी कुनै पुरुष कानुन व्यवसायी हुन्थे भने तीनले यो काम गर्दैनथे, उनले भनिन । म माथि प्रहरी जवानले हातपात गरेपछि यो कुरा माथिसम्म पुग्यो । अदालत प्रशासनमा छलफलफ गरौं भनेर त्याहाँ बोलाए । ती जवानले राजिष्ट्रार लगायत सबैका अगाडी म माथि हातपात गरेको स्वीकारेका थिए । तर मैले उनीविरुद्ध जाहेरी दर्ता गर्न खोजेको थिए तर मेरो जाहेरी कतै दर्ता गरिएन । म उपचार गराएर घर आए । अधिवक्ता थापाले आफू कानुनी उपचारमा लाग्ने बताइन ।
यसैवीच उक्त घटनालाई लिएर नेपाल बार एसोशियसनले घटनामा सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन माग गरेको छ। एसोशियसनका उपाध्यक्ष तथा कानुन व्यवसायी पुरुषोत्तम अधिकारीले सामाजिक सञ्जालमा पोष्ट गर्दै काठमाडौँ जिल्ला अदालतमा भएको कुटपिट घटनाकी पीडित कानुन व्यवसायी अधिवक्ता लक्ष्मी नानी थापा प्रहरीवृत्त सिंहदरबारको पत्रले घाजाँच गरी हस्पिटलबाट घर फर्किएको उल्लेख गरेका छन् । उनले उक्त घटनामा सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन हामी जोडदार माग गरेका छन् । उनले अगाडी भनेका छन्, कानुन व्यवसायीमाथि भएको कुटपिटको यसप्रकारको घटनालाई वास्तविक तथ्यभन्दा फरक तरिकाले अतिरञ्जित गरी घटनाको वास्तविक तथ्यलाई लुकाउने प्रयास गरिएको छ । यो घटनाले समग्र कानुन व्यवसायी असुरिक्षत भएको हुँदा सबै कानुन व्यवसायीलाई कानुन व्यवसायीको न्यायका निम्ति एकजुट हुन अनुरोध गर्दछौं ।