काठमाडौँ । प्रतिनिधि सभाको बैठकले कानून तथा न्याय क्षेत्र सुधारसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई गहन दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाएको छ। बुधबार बसेको संसद् बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमद्वारा प्रस्तुत ती विधेयकसम्बन्धी प्रस्तावहरूलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव पेस गरेकी थिइन्।
सभामुखले ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा संसद् बैठकमा उपस्थित सांसदहरूले समर्थन जनाएका थिए। विपक्षमा कसैको पनि मत नपरेपछि सभामुखले तीनवटै विधेयक सर्वसम्मत रूपमा समितिमा पठाइएको घोषणा गरेका थिए।
अब सम्बन्धित विषयगत समितिमा सरोकारवालाहरू, कानूनविद् तथा सांसदहरूबीच विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल हुनेछ। समितिले आवश्यक संशोधन र परिमार्जनसहित तयार पारेको प्रतिवेदन पुनः प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछ, जसका आधारमा विधेयक पारित गर्ने थप संसदीय प्रक्रिया अघि बढ्नेछ।

