जनकपुरधाम । धनुषाको जनकपुरस्थित दुई वटा होटलमा १९ दिनसम्म बन्धक बनाएर १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार र मानव बेचबिखन प्रकरणका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत धनुषाले २६ भदौमा २३ वर्षीय मुख्य अभियुक्त राइनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशलगत्तै उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यसैगरी, घटनालाई २० लाख रुपैयाँमा मिलापत्र गराउन दबाब दिएको आरोपमा पक्राउ परेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने धरौटीमा छुटेका छन्। सोमबार धनुषा जिल्ला अदालतले कवारीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनी धरौटी रकम बुझाएर छुटेका हुन्।
अपराधपछि फरार भई कतार पुगेका मुख्य अभियुक्त ताहिर राइनलाई नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गराई गत २५ साउनमा पक्राउ गरेर नेपाल ल्याएको थियो। यस्तै, पीडितको बयानका आधारमा वडाध्यक्ष कवारीलाई गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
अदालतमा दर्ता भएको मिसिल अनुसार, २९ चैत २०८१ मा पीडित बालिका घरमा एक्लै भएको मौका छोपी छिमेकी ताहिर राइनले विवाहको प्रलोभन देखाई अपहरण गरेका थिए। उनलाई जनकपुर ल्याएर विभिन्न व्यक्तिहरूले जबरजस्ती करणी गर्नुका साथै होटलहरूमा बेचबिखन गरेका थिए। बालिका कुनै तरिकाले भागेर ज्यान जोगाउन सफल भएकी थिइन्।
त्यसपछि पीडितले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिए पनि प्रहरीले समयमै कारबाही नगर्दा अभियुक्त राइन वैदेशिक रोजगारीका लागि कतार भाग्न सफल भएका थिए।
जाहेरी दिएकै केही समयपछि, १७ असार २०८२ को बिहान करिब ४ बजे बाख्रा बाँध्न निस्किएकी बालिकालाई अञ्जली महरासहितको समूहले पुनः गाडीमा हालेर अपहरण गरेको थियो। अपहरणकारीहरूले उनलाई जनकपुरको पिडारीचोकस्थित ‘होटेल सीएफसी’ मा २ दिन र मुरलीचोकस्थित ‘मधेश प्रदेश गेस्ट हाउस’ मा १७ दिनसम्म बन्धक बनाएका थिए।
बन्धक बनाइएको अवधिमा होटल सञ्चालक तथा अन्य प्रतिवादीहरूले जबरजस्ती करणी गर्नुका साथै अन्य ग्राहकबाट पैसा लिएर करणी गर्न लगाएको गम्भीर अभियोग मिसिलमा उल्लेख छ।
यस जघन्य अपराधसम्बन्धी जिल्ला अदालत धनुषामा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती कानून बमोजिम करणीका दुई वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्।
घटनामा दुई जना बहालवाला प्रहरी अधिकारीसहित करिब एक दर्जन व्यक्तिहरू प्रतिवादी रहेका छन्। जसमध्ये अधिकांश अभियुक्तहरू अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। निरन्तरको धम्की र सुरक्षा जोखिमका कारण पीडित बालिका हालसम्म पनि ‘सेफ हाउस’ को संरक्षणमा छिन्।

