झुटो लिखत मुद्दामा वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनालाई विशेष अदालतबाट सफाइ

काठमाडौँ । गलत लिखत खडा गरी नागरिकता दिलाएको अभियोगमा दायर मुद्दामा विशेष अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनालाई सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार मेयर सिंहसहित सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो। सफाइ पाउने अन्य प्रतिवादीहरूमा पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, वीरगञ्ज–३ का तत्कालीन वडासचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, पुस्कर राना, परशुराम पोखरेल र रिता भट्टराई रहेका छन्।

मेयर सिंह र रिता भट्टराईले अर्काकी छोरीलाई आफ्नै भनी गलत कागजात तयार पारी नेपाली नागरिकता दिलाएको दाबीसहित मुद्दा परेको थियो। बयानका क्रममा उनीहरूले आफूहरूले २०५७ सालमा विवाह गरेको र जन्मिएकी छोरीको २०७१ कात्तिक २० गते जन्मदर्ता गराई २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको बताएका थिए।

विशेष अदालतले सम्बन्धित वडा तथा प्रशासन कार्यालयमा जन्मदर्ता र नागरिकताको विवरण सुरक्षित नरहेकै आधारमा अभिलेख राख्ने दायित्वमा नरहेका सिंहले कागजात नष्ट गरेको भन्न नमिल्ने ठहर गरेको छ।

साथै, साधिकार निकाय प्रशासन कार्यालय पर्साबाट कानूनसम्मत प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको देखिएकाले विवाह दर्ता नभएको वा जन्मदर्ताको कागजातमा नागरिकता नम्बर गलत उल्लेख भएको प्राविधिक कारण देखाएर नागरिकताको प्रमाणलाई अन्यथा भन्न नमिल्ने आधार अदालतले फैसलामा उल्लेख गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज