काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले आफूमाथि सामाजिक सञ्जालमार्फत श्रृङ्खलाबद्ध रूपमा ‘साइबर बुलिङ’ र चरित्र हत्या भइरहेको भन्दै प्रतिनिधि सभा बैठकमा आक्रोश व्यक्त गरेकी छन्। संविधानको रक्षार्थ आफूले व्यक्त गरेका भनाइलाई तोडमोड गरी पूर्वसचिव भीम उपाध्यायले धार्मिक भावना भड्काउने र सामाजिक सञ्जालमा घृणा फैलाउने सामग्री पोस्ट गरिरहेको भन्दै उनले संसद्को गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
जनताको तर्फबाट चुनिएर आएका जनप्रतिनिधि नै डिजिटल प्लेटफर्ममा सुरक्षित नहुने हो भने देशका आम नागरिकको सुरक्षा स्थिति कस्तो होला भन्दै उनले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले जनताको राजस्वबाट पेन्सन खाने पूर्वप्रशासकहरू नै सामाजिक सञ्जालमा अफवाह र सामाजिक वितण्डा फैलाउन उद्यत रहेको आरोप लगाइन्। पूर्वसचिव उपाध्यायजस्ता पात्रहरूले सार्वजनिक पद धारण गरिसकेका व्यक्तिहरूको चरित्र हत्या गर्ने र सामाजिक सद्भाव बिग्रिने किसिमका अभिव्यक्ति दिँदा पनि कडा कारबाही नहुनु चिन्ताजनक रहेको उनको भनाइ थियो। ५१ लाखभन्दा बढी मतदाताको जनादेश पाएको सरकारले आफ्नै सांसदको सुरक्षा र प्रतिष्ठा रक्षा गर्न नसक्नु गैरजिम्मेवारपन भएको उल्लेख गर्दै उनले यस्ता अराजक गतिविधि गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन जोडदार माग गरिन्।
पछिल्लो समय सामाजिक सञ्जालमा अनलाइन ‘ह्यारेसमेन्ट’, नक्कली प्रोफाइल निर्माण, ब्ल्याकमेलिङ र ठगीजस्ता डिजिटल अपराधहरू विकराल रूपमा बढ्दै गएको सांसद विकको ठहर छ। यस्ता साइबर अपराधले व्यक्ति, समाज र समग्र राज्य व्यवस्थालाई नै असर पारिरहेकाले यसलाई नियन्त्रण गर्न विद्यमान कानूनी संरचनालाई अझ कडा र प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औंल्याइन्।

