काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको स्कार्पियो गाडी चोरी भएको छ। ठेचोस्थित निवासबाट मध्यराति उक्त गाडी चोरी भएको हो।
गाडी हराएपछि नगरपालिकाले प्रहरीमा उजुरी दिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार गाडीको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले विभिन्न प्राविधिक पक्षहरूको विश्लेषण गरिरहेको भए पनि अहिलेसम्म गाडी फेला पर्न सकेको छैन।
सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्तिले गाडी लिएर गएको देखिएको छ। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाका सम्बन्धमा गाडीका चालकसँग समेत सोधपुछ गरिएको छ। चालकले भने आफू राति सुतिरहेको अवस्थामा गाडी चोरी भएकाले घटनाबारे कुनै जानकारी नभएको बयान दिएका छन्। प्रहरीले हाल चोरीमा संलग्न व्यक्तिको पहिचान र गाडीको व्यापक खोजी गरिरहेको जनाएको छ।

