काठमाडौँ । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उच्च अदालत पाटनको यसअघिको फैसलालाई सदर गर्दै गिरीलाई निर्दोष ठहर गरेको हो ।
यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको इजलासले गिरीलाई उक्त मुद्दाबाट सफाइ दिएको थियो । उच्च अदालतको सोही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । सर्वोच्चको पछिल्लो निर्णयसँगै उनीमाथि लागेको बलात्कारसम्बन्धी कानूनी आरोप पूर्णतः खारेज भएको छ ।
न्यायाधीश गिरीकी पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । सोही आरोपका कारण यसअघि उनी पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार समेत चलान भएका थिए । लामो कानूनी प्रक्रिया र उच्च अदालतबाट सफाइ पाएपछि उनी पुनः आफ्नो न्यायिक पदमा फर्किएका थिए । सर्वोच्च अदालतले पनि उच्च अदालतको फैसलालाई नै आधिकारिकता दिएपछि गिरीले कानूनी रूपमा पूर्ण सफाइ प्राप्त गरेका छन्।

