काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सीमा र राष्ट्रिय स्वाधीनताका विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेठ १९ गते एक प्रेस विज्ञप्ति जारी गर्दै बारले प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवार र देशको स्थापित अडान तथा कूटनीतिक दाबीलाई कमजोर पार्ने खालको भएको आरोप लगाएको छ।
सीमा जस्तो संवेदनशील राष्ट्रिय मुद्दामा ऐतिहासिक तथ्य, प्रमाण, नाप(नक्सा र सन्धि(सम्झौताका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्नेमा बारले जोड दिएको छ। प्रधानमन्त्रीको ूनेपालले पनि सीमा मिचेको छू भन्ने अभिव्यक्तिलाई बारले राष्ट्रिय हित र स्वाभिमानमाथिको प्रहार भएको ठहर गरेको छ। साथै, नदीको धार परिवर्तनले हुने प्राविधिक परिवर्तनलाई राज्यस्तरबाट हुने भूमि अतिक्रमणसँग तुलना गर्नु सामान्य कूटनीतिक ज्ञानको अभाव रहेको भन्दै बारले यसलाई खेदजनक भनेको छ। नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देशसँगै बार एशोसिएसन दृढ रहेको र सरकारलाई राष्ट्रिय हितका विषयमा स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेको छ।

