काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कारको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बुढालाई पातारासी–५ कै लासी बजारबाट नियन्त्रणमा लिइएको हो। स्थानीय तहको जिम्मेवार पदमा रहेका बुढामाथि बलात्कार जस्तो गम्भीर फौजदारी कसुरको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएको छ र घटनाका सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। वडाध्यक्ष नै पक्राउ परेपछि जुम्लामा यस घटनालाई चासोका साथ हेरिएको छ।

