वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आगामी वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे संसद्को बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

राष्ट्रपतिले सरकारद्वारा पुनः सिफारिस गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् अधिवेशनको नयाँ मिति तय गरिएको हो।

यसअघि सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरे पनि त्यसको भोलिपल्टै उक्त आह्वान स्थगित गरिएको थियो। संसद् अधिवेशन स्थगित गरेर सरकारले विभिन्न ८ वटा अध्यादेशहरू जारी गरेको छ, जसमा राष्ट्रपतिले सुरुमा फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश समेत समावेश छ। मन्त्रिपरिषद्ले हिजोको बैठकबाट सो अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेपछि आज राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेका हुन्। अध्यादेश जारी गर्ने प्रक्रिया पूरा भएसँगै सरकारले संसद्को नियमित अधिवेशन सुरु गर्न नयाँ मिति सिफारिस गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज