भ्रष्टाचार मुद्दाका आरोपी एवं पूर्वअर्थमन्त्री डा.महतको स्वास्थ्य परीक्षण गर्न विशेषको आदेश

काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दाका आरोपी एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले महतको मानसिक तथा शारीरिक अवस्थाबारे वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।

डा. महतकी पत्नी रोशनी महतले आफ्ना पति विगत दुई वर्षदेखि डिमेन्सिया रोगबाट ग्रसित रहेको र होस ठेगानामा नभएका कारण आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको भन्दै मुद्दा मुल्तवीमा राख्न निवेदन दिएपछि अदालतले यस्तो आदेश दिएको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ मा होस ठेगानामा नरहेको व्यक्तिले आफ्नो प्रतिरक्षा गर्न नसक्ने देखिएमा चिकित्सकबाट जाँच गराई मुद्दा मुल्तवीमा राख्नुपर्ने कानुनी व्यवस्था छ। सोही प्रावधानलाई आधार मानी दिइएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले स्वास्थ्य परीक्षणको प्रतिवेदन आएपछि मात्र थप प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मुद्दा मुल्तवीमा रहनुको अर्थ त्यससम्बन्धी कानुनी प्रक्रियालाई तत्कालका लागि थाती राख्नु हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसीरमा पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा डा. महतसहित पूर्वमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र दिवंगत पोष्टबहादुर बोगटीकी पत्नी राममाया बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। विमानस्थल निर्माणका क्रममा भएको भनिएको यो ठुलो आर्थिक अनियमितताको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज