काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कानुनी आधार र कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। शङ्कर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभलाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएपछि उनका बाबु शङ्करलाल अग्रवालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले अग्रवाललाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ माग गरेको हो।
सम्पत्ति शुद्धीकरण विभागले चैत २२ गते सुलभलाई शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। अनुसन्धानकै क्रममा विभागले शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई पनि काठमाडौँबाट नियन्त्रणमा लिएको भए पनि उनी हाल हाजिरी जमानीमा रिहा भइसकेका छन्। सुलभलाई भने विभागले हिरासतमै राखेर अनुसन्धान अगाडि बढाएपछि यो मामलाले न्यायिक मोड लिएको हो।
विशेष गरी इन्फिनिटी होल्डिङ्स र शङ्कर ग्रुपबीच भएका करोडौँका शङ्कास्पद आर्थिक कारोबारहरूको अनुसन्धान गर्ने क्रममा सुलभ पक्राउ परेका हुन्। नेपाल राष्ट्र बैंकले साढे दुई वर्षअघि नै यी दुई व्यापारिक समूहबीच भएका वित्तीय कारोबारहरू शङ्कास्पद देखिएको भन्दै विस्तृत अनुसन्धानका लागि विभागलाई पत्राचार गरेको थियो। सोही पत्राचार र लामो समयको निगरानीपछि विभागले अहिले यो प्रक्रियालाई तीव्र बनाएको छ।

