रोल्पामा घरभित्र पसेको निहुँमा ११ वर्षीय बालकमाथि कुटपिट गर्ने तीन जना पक्राउ

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ कुइनेटामा एक ११ वर्षीय बालकमाथि निर्घात कुटपिट भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय पूर्णबहादुर विकका छोरा ती बालक वैशाख ११ गते साँझ एक व्यक्तिको घरभित्र पसेको निहुँमा उनीमाथि कुटपिट भएको हो। कुटपिटबाट बालकको अनुहारमा गम्भीर चोट लागेको र सुन्निएको अवस्थामा खिचिएका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना बाहिर आएको थियो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र विश्वकर्माका अनुसार यस घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिसकिएको छ। यद्यपि, घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने र उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने देखिएकाले हालसम्म पक्राउ परेकाहरूको परिचय गोप्य राखिएको छ। प्रहरीका अनुसार बालकमाथि कुटपिट भएपछि उक्त विषयलाई लिएर दुई पक्षबीच झडपसमेत भएको बुझिएको छ।

यस घटनाका सम्बन्धमा पीडित पक्षले सोमबार मात्रै प्रहरीमा औपचारिक जाहेरी दर्ता गराएका छन्। प्रहरीले पक्राउ परेका तीनै जनामाथि सोधपुछ सुरु गरिसकेको छ भने उनीहरूविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको छ। अहिलेसम्म कुन व्यक्तिको घरमा बालक छिरेका थिए र घटनामा मुख्य रूपमा को–को संलग्न थिए भन्नेबारे प्रहरीले विस्तृत विवरण खुलाउन बाँकी नै राखेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज