नारायणदत्त पौडेल बने १३औं आईजीपी

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सशस्त्र प्रहरी बल, नेपालको १३औं महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। हाल सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत पौडेलले वर्तमान आईजीपी राजु अर्यालको चार वर्षे कार्यकाल पूरा भई अवकाश भएपछि आगामी १८ वैशाख २०८३ देखि संगठनको कमान्ड सम्हाल्नेछन्।

सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आईजीपी बढुवाको रोलक्रममा पहिलो नम्बरमा रहेका पौडेललाई नै सर्वोच्च पदमा पुर्‍याउने निर्णय गरिएको हो। पौडेलले आगामी १८ चैत २०८४ सम्म करिब दुई वर्ष संगठनको नेतृत्व गर्नेछन् भने विद्यमान नियमावलीको ३० वर्षे सेवा हदका कारण सोही मितिमा उनले अवकाश पाउनेछन्।

सुर्खेतको साविक जर्बुटामा जन्मिएका उनले आफ्नो सेवा यात्रा निजामती कर्मचारीका रूपमा खरिदार पदबाट सुरु गरेका थिए। वीरेन्द्रनगर नगरपालिकामा पाँच वर्ष खरिदारका रूपमा स्थायी सेवा गरेका पौडेल साथीभाइको लहलहैमा काठमाडौं आएर प्रहरी निरीक्षकको परीक्षा दिँदा पहिलो प्रयासमै सफल भएका थिए। १८ चैत २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरबाट सुरक्षा सेवामा प्रवेश गरेका उनले माओवादी द्वन्द्वको कठिन समयमा रोल्पा स्ट्राइकिङ टोलीको कमान्डर बनेर चुनौतीपूर्ण भूमिका निर्वाह गरेका थिए। रोल्पामा रहँदा उनले देखाएको निडरपन, सफल अपरेसन र मातहतका कर्मचारीको मनोबल उच्च राख्न खेलेको भूमिकाको कदर गर्दै प्रहरी प्रधान कार्यालयले उनलाई एक ग्रेड थप गरी पुरस्कृतसमेत गरेको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २८ वर्ष सेवा गरिसकेका पौडेल ४ वैशाख २०५८ मा नवगठित सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए। सशस्त्रमा आएपछि १८ चैत २०५८ मा स्थायी डीएसपी भएका उनले दाङको सुरक्षा बेस र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय जस्ता महत्वपूर्ण ठाउँमा बसेर अनुभव बटुलेका छन्। आईजीपीको दौडमा उनीसँगै एआईजीहरू वंशी दाहाल र गणेश ठाडा मगर प्रतिस्पर्धामा भए पनि वरिष्ठता र भर्ना प्रक्रियाका आधारमा पौडेल सबैभन्दा अगाडि थिए।

सम्बन्धित समाचार

ताजा न्यूज