काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय शेयर कारोबारलगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र जनचासोलाई गम्भीरतापूर्वक लिँदै उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले सुशासन र पारदर्शिताको माग गर्दै भइरहेको नयाँ पुस्ताको आन्दोलनलाई सम्मान गर्दै यो निर्णय लिएको बताएका छन् ।
उनले पदभन्दा नैतिकता र जनविश्वास ठूलो शक्ति भएको उल्लेख गर्दै ४६ जना दाजुभाइ तथा दिदीबहिनीहरूको बलिदानको आडमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको निर्धक्क जवाफ दिन पदमा बसिरहनु उचित नहुने धारणा राखेका छन् । आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा बहाल रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने पवित्र उद्देश्यले आजैका मितिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।
राजीनामाको घोषणा गर्दै निवर्तमान मन्त्री गुरुङले आम नागरिक, युवा र सञ्चारकर्मीहरूलाई सत्य र इमानदारीको बाटोमा दृढताका साथ उभिन अपिल गरेका छन् । उनले कतिपय सञ्चारकर्मीहरूको शेयर लगानीका विषयमा पनि भविष्यमा सत्यतथ्य खुल्दै जाने संकेत गर्दै रामराज्यको परिकल्पना गर्नेहरूले त्याग र नैतिक साहस देखाउन सक्नुपर्ने चुनौती दिएका छन् । आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको भन्दै उनले अबको बाटो आत्मशुद्धिको हुनुपर्नेमा जोड दिएका छन् ।


