काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कारबाहीको माग गर्दै अभियोगपत्र दर्ता गराएको हो।
उक्त कानुनी व्यवस्था अनुसार कसुरदार ठहरिएमा प्रसाईँलाई १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।
प्रसाईँले पटक-पटक यस्तो कसुर दोहोर्याएको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग दाबी गरिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको प्रहरी अनुसन्धानले देखाएको छ। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको र “निर्वाचन गरिए देश टुक्रिन्छ” भन्दै समाजमा वैमनस्यता फैलाउन खोजेको अभियोगपत्रमा उल्लेख छ। यस कार्यले निर्वाचन आचारसंहिता २०८२ को समेत उल्लंघन गरेको देखिएको छ।
प्रसाईँले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव गरिए देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए। ती भिडियोहरूमा उनले “मर्न र मार्न तयार हुने” जस्ता हिंसात्मक र उत्तेजक शब्दहरू प्रयोग गरेको पाइएपछि ती सामग्रीलाई नै मुख्य प्रमाणका रूपमा अदालतमा पेश गरिएको छ।

