लाइसेन्स अनियमिततामा अख्तियारको छापा : चाबहिल यातायात कार्यालयका प्रमुखसहित २५ मोबाइल बरामद

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ।

आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा असफल भएका सेवाग्राहीहरूलाई तोकिएको तीन महिनाको अवधि नपुगेकै अवस्थामा पुनः परीक्षामा सहभागी गराइदिने नाममा घुस असुली भएको उजुरी र सूचनाका आधारमा टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले अनुसन्धान थालेको हो।

छानबिनका क्रममा यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको आयोगले जनाएको छ। साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाका ३ थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।

यस्तै, नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनासँग सम्बन्धित १ थान मोबाइल फोन समेत बरामद गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका क्रममा लिखित परीक्षा दिई असफल भएको मितिले तीन महिना अवधि नपुगेकै अवस्थामा पुनः परीक्षामा सहभागी गरिएका परीक्षार्थीहरूको उत्तरपुस्तिकासहितका कागजातहरू पनि जफत गरिएको छ।

अख्तियारका अनुसार बिचौलियामार्फत सेवाग्राहीसँग प्रतिव्यक्ति पाँच हजारदेखि दश हजार रुपैयाँसम्म रकम संकलन गरिएको प्रारम्भिक तथ्य खुलेको छ। घटनासँग सम्बन्धित सबै पक्षको विस्तृत अनुसन्धान भइरहेको र प्रमाणको विश्लेषणपछि थप कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज