काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतले तोकेको धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएपछि रिहा भएका छन्।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा अदालतले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो। मंगलबार अदालतमा उपस्थित भएका लामिछानेको बयान लिइएपछि थुनछेक बहस भएको थियो।
न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक आदेश गर्दै धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतले माग गरेको रकम बराबरको प्रभु बैंकको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई रिहा गरिएको पर्सा अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित लामिछानेसहित २९ जनाविरुद्ध जेठ ३० गते जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। अभियोगपत्रमा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप सजायको मागसमेत गरिएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेपछि पर्सा प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ हजार रुपैयाँ स्थानान्तरण भएको विवरण खुलेको छ।

