राप्रपाकी कंचन विच्छा पदमुक्त, मधेस प्रदेशमा समानुपातिक सूचीको दोस्रो नाम अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेस प्रदेशकी समानुपातिक सांसद कंचन विच्छा पदमुक्त भएकी छन्। पार्टीको आन्तरिक निर्णय प्रदेश सचिवालयमा दर्ता भएपछि शुक्रबार उनको पद खारेज गरिएको सूचना प्रदेश सभाले सार्वजनिक गरेको हो।

विच्छामाथि पार्टी कारबाहीको प्रक्रिया एमाले नेतृत्वको सरकारमा सहभागी भएकै कारण सुरु भएको थियो। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकारमा उनी पार्टीलाई जानकारी नदिई सहभागी बनेकी थिइन्। अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता आउन आग्रह गर्दा पनि उनी अडिग रहेपछि विवाद चर्किएको हो।

विच्छाको आचरणप्रति प्रश्न उठेपछि राप्रपा अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो। त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिले उनलाई छ महिनाका लागि पार्टीबाट निलम्बन गर्दै प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। यही निर्णय मंसिर १२ गते प्रदेश सचिवालयमा दर्ता भएसँगै उनको पद स्वतः खारेज भएको हो।

यसबीच एमाले नेतृत्वको सरकार ढलेपछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन दलहरूबीच छलफल चलिरहेको छ। विच्छा पदमुक्त भएसँगै अब राप्रपाले नयाँ सांसद पठाउने तयारी गरेको छ। समानुपातिक सूची अनुसार विच्छाको ठाउँमा महोत्तरीकी सुनिताकुमारी ठाकुर प्रदेश सभा सदस्य बन्ने सम्भावना प्रबल देखिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज