प्रतिनिधिसभा निर्वाचन : ९० दिन बाँकी, आयोगले तयारी तीव्र बनायो

काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले सबै तयारीलाई द्रुतगतिमा अघि बढाएको छ। मतदान मिति अब ९० दिन टाढा रहँदा आयोगदेखि राजनीतिक दलसम्म आ–आफ्नो तयारीमा केन्द्रित भएका छन्।

आयोगले समानुपातिक प्रणालीतर्फको पूर्वकार्यतालिका यसै सातादेखि लागू गर्दै छ। आयोगका अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दलहरुले समानुपातिकतर्फका लागि आवेदन दिने समय तोकिएको छ। प्राप्त आवेदको सूची मङ्सिर २४ गते सार्वजनिक हुने छ।

यस्तै, समानुपातिक उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दर्ता हुने कार्यक्रम छ। परिमार्जन तथा छानबिन प्रक्रियापछि बन्दसूची माघ ३० गते अन्तिम रूपमा प्रकाशित गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रत्यक्षतर्फको निर्वाचन प्रक्रियामा भने माघ ६ गते उम्मेदवार मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन प्रारम्भिक सूची सार्वजनिक हुनेछ। मनोनयनविरुद्ध उजुरी दिन माघ ७ गतेसम्मको समय दिइएको छ।

माघ ८ गते संशोधित नामावली प्रकाशित हुने र माघ ९ गते उम्मेदवारी फिर्ताको अन्तिम मिति तोकिएको छ। फिर्ता प्रक्रियासँगै त्यसै दिन अन्तिम नामावली सार्वजनिक गर्दै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

निर्वाचन नजिकिँदै जाँदा दलहरूले आन्तरिक रणनीति, गठबन्धनका सम्भावना र उम्मेदवार छनोट प्रक्रियालाई पनि तीव्रता दिएको देखिन्छ। आयोगले भने निर्वाचन अनुशासित, पारदर्शी र सुरक्षित बनाउन आवश्यक व्यवस्थापकीय कामलाई नियमित रूपमा अगाडि बढाइरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज