एनपीएलमा अनलाइन सट्टाबाजीमा संलग्न ८ भारतीय नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गरी अनलाइन सट्टाबाजी सञ्चालन गरेको आरोपमा आठ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा आन्ध्र प्रदेशका विभिन्न जिल्लाबाट आएका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साइकुमार तम्मिसेट्टी (१९) र सेखचन्द बसल (२८) रहेका छन्। उनीहरू काठमाडौं–२६ सामाखुशी क्षेत्रमा बस्दै आएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरू ‘बेटाकुलर लाइभ’ नामक अनलाइन प्लेटफर्म प्रयोग गरी खेलको हारजितमा रकम लगानी गर्दै सट्टाबाजी गर्दै आएका थिए।

पक्राउकातरूबाट १५ थान मोबाइल फोन बरामद गरिएको र ती उपकरणमा भएका गतिविधिबारे प्रविधियुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १२५(४) बमोजिम सट्टाबाजीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाइएको आचार्यले बताए।

एनपीएलको लोकप्रियता बढ्दै जाँदा अनधिकृत अनलाइन सट्टाबाजीका घटना बढ्ने क्रमसँगै प्रहरी सतर्कता पनि कडाइ गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज