दुर्गा प्रसाईं थुनामुक्त : सर्वोच्चको आदेशपछि हिरासतबाट रिहा

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्ने आदेश दिएको छ। छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ पूर्जी तथा म्यादथप लगायतका सबै अनुसन्धान प्रक्रिया बदर गरेको हो।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गर्दै तुरुन्त रिहा गराउन आदेश दिएको हो। आदेशमा हालको बदलिएको परिस्थितिमा प्रसाईंलाई हिरासतमा राखिराख्न आवश्यक नदेखिएको उल्लेख छ।

अदालतको आदेशमा भनिएको छ: २०७८/५/६ मा महाअभियानले आयोजना गर्न लागेको कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भइसकेको र विद्वान कानुन व्यवसायीहरूले इजलासलाई जानकारी गराएको सन्दर्भमा निवेदकविरुद्धको अनुसन्धानका कारण उनीलाई हिरासतमा राखिराख्नुपर्ने औचित्य समाप्त भइसकेको देखिन्छ। त्यसैले जारी सबै प्रक्रिया बदर गरी दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गराउन आदेश जारी हुन्छ।

यसअघि शनिबार राति बालुवाटारमा सरकार र प्रसाईं नेतृत्वको महाअभियानबीच करिब चार घण्टा लामो वार्ता भएको थियो। वार्तामा उठाइएका मागहरूको सम्बोधनका लागि सरकारले निरन्तर संवाद गर्ने उल्लेख गरिएको थियो। सो सहमतिपछि महाअभियानले आजदेखि लागू हुने भनेका नेपाल बन्द, अनिश्चितकालीन हड्ताललगायतका कार्यक्रम फिर्ता लिएको थियो।

प्रसाईंलाई मंसिर २ को मध्यराति ललितपुरस्थित आफ्नै निवासबाट सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चको आदेशपछि प्रसाईं आजै हिरासतबाट बाहिरिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज