जनकपुरधाम । मधेश प्रदेशसभा बैठकले सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरेको छ। बुधबार बसेको बैठकमा सभामुखले पदको गरिमा अनुरूप आचरण नगरेको भन्दै दर्ता भएको प्रस्ताव आवश्यक दुई–तिहाई बहुमतले पारित भएको हो।
सभामुखको विपक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरे। विरोधमा एक मत पनि परेको छैन। मण्डल भने बैठकमा अनुपस्थित थिए। मधेश प्रदेशसभामा कुल १०४ सदस्य छन्, जसअनुसार प्रस्ताव पास हुन ७२ मत आवश्यक पर्थ्यो।
कात्तिक २७ गते सात दलका ६४ सांसदले मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपसहित प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता गर्ने दलमा नेपाली कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति रहेका थिए। एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद भने बैठकमै अनुपस्थित रहे।
मण्डल यसअघि पनि सभामुख पदबाट हटाइएका थिए। पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनले वाम एकीकरणपछि नेकपा प्रवेश गरेका थिए। पछि एकता भंग भएपछि माओवादीमा फर्किनुको साटो उनले एमाले रोजेपछि साढे तीन वर्षमै सभामुख पद गुमाएका थिए।
नयाँ सभामुख चयनका विषयमा प्रदेशसभाले अब प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

