काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश जान खोजे उनलाई नरोक्ने संकेत देखिएको छ ।
जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवाको घरमा ठूलोमा मात्रामा रकम जलेको अवस्थामा भेटिएकोबारेमा अनुसन्धान गर्ने भन्दै यसअघि सरकारले देउवा दम्पत्तिलाई विदेश जान रोक्ने तयारी अघि बढाएको थियो । सोही अनुसार सरकारी संयन्त्रले गृहकार्य गरेका थिए ।
तर, सरकारको त्यो तयारीमा अहिले ब्रेक लागेको छ । देउवालाई अहिल्यै विदेश जान रोक्नुपर्ने पर्याप्त आधार–प्रमाण नदेखिएको अनुसन्धान गर्ने संयन्त्रको राय दिएका कारण उनको विदेश यात्रामा प्रतिबन्ध लगाईहाल्ने अवस्था नरहेको एक मन्त्रीले बताए ।
‘राज्यका संयन्त्रहरुले प्रतिबन्ध लगाउनुपर्ने भन्दै अहिलेसम्म कुनै परिपत्र गरेका छैनन् । अन्य विविध कारण केलाउँदा पनि अहिले नै रोक्ने उचित कारण देखाउन समस्या छ’ ती मन्त्रीले भने ।
देउवा आन्दोलन दमनमा प्रत्यक्ष सहभागी नभएको हुँदा उनलाई राजनीतिक अभियोगमा रोक्न सक्ने आधार देखिदैन् । साथै सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागले पनि उनको निवासमा भेटिएका सबुत प्रमाण उनलाई बिदेश यात्रामा प्रतिबन्ध लगाउनेगरी पर्याप्त नभएको राय दिएको एक मन्त्रीले जानकारी दिए ।
जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख ९हाल अवकाश० हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाललाई विदेश जान रोक लगाएको थियो ।
२३ र २४ भदौको घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले उनीहरुलाई उपत्यका बाहिर जानु परेपनि प्रशासनको अनुमति लिनुपर्ने र विदेश यात्रा रोक्नु पर्ने भन्दै १२ भदौमा सरकारलाई सिफारिस गरेको थियो । त्यसपछि उनीहरुलाई विदेश जान रोक लगाइएको छ ।
तर, देउवाको हकमा भने अहिलेसम्म कुनै पनि संयन्त्रले सरकारलाई यस्तो सिफारिस गरेका छैनन् । जसकारण देउवाको हकमा भने उनी उपचार वा परिवार भेट्न जान खोज्दा रोक्ने उचित कारण नभेटिने सरकारी अधिकारीहरुको भनाइ छ ।