काठमाडौँ । सर्वोच्च अदालतका विवादित कर्मचारी आर्दश श्रेष्ठ अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव बनेका छन्। कार्कीले पदभार सम्हालेसँगै आफ्नो निकटतम विश्वासपात्रको रूपमा उनलाई सचिवालयमा नियुक्त गरेको हो।
श्रेष्ठ सर्वोच्चमा रहँदै विवादास्पद गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका कर्मचारी हुन्। सिन्धुली घर भएका उनी २०६१ सालमा सर्वोच्च अदालतमा ‘आईटी सपोर्ट पर्सन’ पदमा नियुक्त भएका थिए। लामो समय पेशी व्यवस्थापन शाखामा काम गरेका उनले गोलाप्रथा सुरु हुनुअघि नै प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमा बसेर पेशी तोक्ने जिम्मेवारी सम्हालेका थिए।
सर्वोच्चका कर्मचारीहरूका अनुसार, श्रेष्ठसँग नजिक रहेका कानुन व्यवसायीहरू अन्यभन्दा अघि नै कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्न लागेको छ भन्ने जानकारी पाउँथे। श्रोतका अनुसार, उनी सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठका बहिनी ज्वाइँका भाइसमेत हुन्।
श्रेष्ठले लगातार तीन जना प्रधानन्यायाधीश रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए। विशेषगरी कल्याण श्रेष्ठ र सुशीला कार्कीको कार्यकालमा उनी सर्वोच्चभित्र झनै प्रभावशाली बनेका थिए।
श्रेष्ठसँगै प्रधानमन्त्री कार्कीले मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीको अघिपछि देखापरे सर्वोच्चका विवादित कर्मचारी आर्दश श्रेष्ठ

