जाँचबुझ आयोगको निर्णय, ओलीसहित पाँच जनालाई उपत्यका बाहिर जान रोक, राहदानी रोक्का सिफारिस

काठमाडौँ । जेन–जी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।

आयोगको सिफारिसअनुसार राहदानी रोक्का सूचीमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल परेका छन् ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भाद्र २३ र २४ गतेका घटनाको छानबिनका क्रममा थप जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयसँग माग गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

आयोगले सम्बन्धित निकायलाई पठाएको पत्रमा भनिएको छ, “अनुसन्धानमा रहेका व्यक्तिहरू कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले उनीहरूले आयोगको पूर्वस्वीकृति विना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन आवश्यक छ।”

सो निर्णयसँगै हालै मात्रै पत्रकार सम्मेलनमार्फत विदेश भ्रमण नगर्ने घोषणा गरेका ओली अब आयोगको अनुमति विना उपत्यकाबाहिर समेत जान नपाउने भएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज