सरकारले भदौ २३–२४ का घटनाको छानबिनका लागि विषेश आयोग गठन गर्दै

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते जेन(जी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न विशेष आयोग गठन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई नजिक रहेका स्रोतका अनुसार आज साँझसम्म बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनबारे निर्णय लिने अपेक्षा गरिएको छ। आयोगको नेतृत्व पूर्वन्यायाधीशमध्ये कसैले गर्ने सम्भावना देखिएको छ।

यसअघि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति जनाइसकेको भए पनि आयोगको स्वरूप र नेतृत्वबारे टुंगो लाग्न बाँकी थियो।

भदौ २३ गते राजधानी काठमाडौंसहित देशभरै प्रदर्शन भइरहेका बेला १७ जनाको ज्यान गएको थियो। पछिल्लो तथ्यांकअनुसार मृतक संख्या ७४ पुगेको सरकारको दाबी छ।

त्यसैगरी भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी निकाय तथा नेताहरूका निवासमा आगजनी र तोडफोड भएका थिए। यी घटनाका सबै पक्षबारे सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनी कारबाही गर्ने सरकारको तयारी रहेको बताइएको छ।

जेन(जी आन्दोलनपछिको राजनीतिक उथलपुथलका कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज