काठमाडौं । नख्खु कारागारबाट फरार भएका सञ्जय साह (टकला) काभ्रेको मंगलटारमा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। पक्राउ परेका टकलालाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार हालसम्म नख्खु कारागारबाट भागेका १७ जना र सिन्धुली कारागारबाट भागेका २ जना गरी १९ कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ।
टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय भोगिरहेका थिए। त्यस्तै, जनकपुरका मिडिया उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा समेत उनीमाथि आरोप छ।
बुधबार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले कारागारमा तोडफोड गर्दा टकला अन्य कैदीसँगै भागेका थिए।