संवैधानिक सर्वोच्चताबाटै समाधान खोज्न बार एसोसिएसनको आग्रह

काठमाडौँ । नेपाल बार एसोसिएसनले मुलुकको वर्तमान जटिल अवस्थाबाट निस्कन संविधानकै सर्वोच्चता र मर्मलाई आधार बनाउन आग्रह गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै बारले कैयनको बलिदान र लामो संघर्षपछि बनेको संविधानलाई जोगाउँदै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिएको हो। ‘शासन प्रणालीलाई सहज र स्थिर बनाउन संविधानको मर्मभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ।

बारले न्यायमा सबैको पहुँच सुनिश्चित गर्न अदालतहरूको कामकाज निर्वाध रूपमा चलिरहनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, जेन–जी पुस्ताले उठाएका सुशासन र भ्रष्टाचारविहीन शासनका मागलाई संविधानमा आवश्यक संशोधन र परिमार्जनमार्फत सम्बोधन गर्नुपर्ने भनाइ अघि सारेको छ।

‘यदि यी मागहरू भूराजनीतिक दबाबका कारण गलत दिशातर्फ मोडिए भने नेपालको सार्वभौमसत्तामाथि नै खतरा आउन सक्छ,’ बारको विज्ञप्तिमा चेतावनी दिइएको छ।

संविधानका आधारभूत उपलब्धि लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशीतामा सम्झौता गर्न नहुने स्पष्ट पार्दै बारले राष्ट्रपतिलाई नागरिक शासन स्थापना गर्न पहल गर्न आह्वान गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज