काठमाडौं । जेन–जी आन्दोलनपश्चात् देशभरका कारागारमा देखिएको अराजक परिस्थितिमा १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन्। विभिन्न स्थानका कारागारमा तोडफोड र आगजनीसँगै कैदीबन्दी उम्किएपछि पीडित परिवारमा त्रास फैलिएको छ।
प्रहरी र सुरक्षास्रोतका अनुसार हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता गम्भीर अपराधमा संलग्न कैदीसमेत भागेका छन्। तर, केही कैदी आफैं फर्किएका छन् भने सुरक्षाकर्मीले पनि कैयौँलाई नियन्त्रणमा लिएको जानकारी आएको छ।
काठमाडौं उपत्यकाबाट मात्रै हजारौँ कैदी भागेका छन्। सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३ हजार ३ सय, नख्खु कारागारबाट १ हजार ४ सयभन्दा बढी र डिल्लीबजार कारागारबाट समेत भाग्ने प्रयास भएको थियो। भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी र सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा अध्यक्ष रवि लामिछाने पनि फरार भएको पुष्टि भएको छ।
प्रदेशका विभिन्न कारागारमा पनि कैदीबन्दी उम्किएका छन्। कास्की, चितवन, कपिलवस्तु, झुम्का, राजविराज, गौर, महोत्तरी, बाँके, कैलाली, कञ्चनपुरलगायतका कारागारमा सामूहिक रूपमा कैदी भागेका छन्। रौतहटको गौर कारागारबाट मात्र करिब २ सय ६० जना कैदी उम्किएका थिए, जसमा कर्तव्य ज्यान मुद्दाका १ सयभन्दा बढी कैदी छन्। केहीलाई भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको छ।
यसैबीच, कैदी नियन्त्रणमा लिन धादिङ जिल्ला कारागारमा सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। नेपाल प्रहरी र सशस्त्रका सात जना समेत घाइते भएका छन्।
बाल सुधारगृहहरू पनि सुरक्षित रहेनन्। बाँकेको नौबस्तास्थित सुधारगृहमा झडप हुँदा गोली लागेर पाँच बाल बन्दीको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। मृतक सबै जबरजस्ती करणी मुद्दाका रहेका बताइएको छ। त्यसैगरी कास्की, हेटौंडा, बाँके र अन्य जिल्लाका सुधारगृहबाट समेत सयौँ बाल बन्दी फरार भएका छन्।
कारागार र सुधारगृह तोडफोड तथा सामूहिक भागाभागका घटनापछि सरकारले सेनासहितको सुरक्षा बल परिचालन गरी नियन्त्रण प्रयास गरेको छ। तर, भागेका कैदीमध्ये धेरै अझै फरार छन् र खोजतलासी तीव्र पारिएको प्रहरीले जनाएको छ।

