काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रणगर्न विशेष अभियान सुरू गरेको छ । ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ नाम दिइएको यस अभियानअन्तर्गत प्रहरीले दैनिक जीवनका सामान्य बानीब्यवहारमै ध्वनि कम गर्ने उपाय अपनाउन आग्रह गरेको हो ।
बुधबार सार्वजनिक गरिएको अभियानमा पाँच बुँदा र तिनका उपबुँदा राखिएको छ । त्यसअन्तर्गत राति वा बिहान सबेरै शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय गर्न, प्रेसर कुकरमा सिट्ठी नलगाउन, भान्सामा भाँडाकुँडाको ठूलो आवाज नगर्न र अबेरसम्म चर्को स्वरमा गफ नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै फोन कल गर्दा आवाज कम गर्न र सम्भव भएसम्म हेडफोन प्रयोग गर्न सुझाव दिइएको छ ।
प्रहरीको यस्तो अनुरोध सामाजिक सञ्जालमा समेत चाँडै चर्चा बनेको छ । कतिपयले यसलाई व्यावहारिक र आवश्यक भन्दै समर्थन गरेका छन् भने केहीले आलोचना पनि गरेका छन् ।
उपत्यका प्रहरीले भने यसलाई जनजीवन सहज र स्वस्थ बनाउन सुरु गरिएको प्रयास भएको जनाएको छ ।


