सामाखुसीबाट करोडौं नगद र नौ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजस्व विभागमा बुझाइयो

काठमाडौं । राजधानीको सामाखुसीबाट करोडौं नगद र सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई आन्तरिक राजस्व विभाग, हरिहर भवनमा थप अनुसन्धानका लागि पठाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले मंगलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार राजस्व विभागमा बुझाइएको जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुसीस्थित घरमा छापा मार्दा चार करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ नगद, नौ किलोभन्दा बढी सुनका गरगहना र तीन किलोभन्दा बढी चाँदी बरामद गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगञ्ज र प्रहरी वृत्तको संयुक्त टोलीले गरेको अपरेशनमा घरधनी श्रेष्ठ पक्राउ परेका थिए।

पक्राउपछि प्रहरीले श्रेष्ठका छोरा सनम खड्गीले भाडामा लिएको नयाँबजारस्थित घरमा समेत खानतलासी गरेको थियो। सामाखुसी र नयाँबजार दुवै स्थानबाट बरामद गरिएको नगद र धातुका गहना बुधबार सार्वजनिक गरिएको छ।

प्रहरीका अनुसार बरामद भएको सम्पत्तिको स्रोतबारे विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानको निष्कर्षपछि कानूनी कारबाही अघि बढाइने जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज