काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारसँग गरेको २७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै फेरि आन्दोलनको घोषणा गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासङ्घले आगामी चरणको आन्दोलन अघिल्लाभन्दा बढी दबाबपूर्ण हुने चेतावनी दिएको हो।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख दलका सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र दुई घण्टासम्म प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते जिल्लास्तरीय समन्वय इकाइमा पनि ध्यानाकर्षण पत्र बुझाउँदै धर्ना आयोजना गरिने महासङ्घले जनाएको छ। सुवेदीले भदौ २१ गते दोस्रो चरणको आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने र त्यसमा विरोध प्रदर्शनसहित थप कडा कार्यक्रम रहने जानकारी दिए।
“अबको आन्दोलन विगतको भन्दा कडा र प्रभावकारी हुनेछ,” सुवेदीले भने, “सरकारले सहमति पालना नगरेसम्म दबाब बढाउँदै लगिनेछ।”
शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासङ्घले असन्तुष्टि जनाउँदै त्यसको संशोधन र सहमति अनुसारका माग पुरा गर्न सरकारसँग पटक–पटक आग्रह गर्दै आएको छ।

