काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनमा अधिवक्ता सुबोध बाबु चिलुवाल अध्यक्षमा विजयी भएका छन्।
शनिवार सम्पन्न निर्वाचनमा चिलुवालले अध्यक्षका प्रतिस्पर्धी अधिवक्ता सुरेन्द्र तिवारीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता लक्ष्मण थपलियाका अनुसार चिलुवालले १ हजार १ सय ११ मत प्राप्त गर्दा तिवारीले १ सय ३० मतमा सीमित भए।
उपाध्यक्ष पदमा अधिवक्ता लक्ष्मी सापकोटा घिमिरेले १ हजार १ सय १० मत प्राप्त गर्दै विजय हासिल गरिन् भने प्रतिस्पर्धी रीता पोख्रेलले १ सय २७ मत प्राप्त गरिन्।
सचिवमा अधिवक्ता पुरुषोत्तम अर्याल १हजार १ सय ४६ मतसहित निर्वाचित हुँदा उनको प्रतिस्पर्धी मैया देवी दहालले १ सय १ मत मात्र पाइन्। कोषाध्यक्षमा अधिवक्ता प्रमिला कायस्थले १ हजार ७८ मत प्राप्त गरी निर्वाचित भइन् भने प्रतिस्पर्धी हेमकला जिसीले १ सय ५९ मत पाइन्।
खुला सदस्य पदमा अधिवक्ताहरू सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनक सिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्ण प्रसाद दाहाल, तुलसीराम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, राम बहादुर शाही र सरोज सिलवाल निर्वाचित भएका छन्।
जिल्ला बारमा कुल २ हजार ९ सय ६० मतदाता रहेका मध्ये १ हजार २ सय ८९ मत खसेको निर्वाचन समितिले जनाएको छ। १९ सदस्यीय कार्यसमितिमा सह-सचिव र दुई जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। सह-सचिवमा अधिवक्ता अनिता शर्मा अनु निर्विरोध निर्वाचित भइन्। त्यस्तै, महिला सदस्यमा सम्झना केसी र तुलसा खरेल निर्विरोध भएका थिए ।