काठमाण्डौं । नेपालका करिब एक सय स्थानीय तहको संख्या र सिमाना हेरफेरका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्न प्रस्तावहरू दर्ता भएका छन्। प्राप्त प्रस्तावहरूमध्ये अधिकांश वडाको सीमा व्यवस्थापनसँग सम्बन्धित छन् भने केहीमा गाउँपालिकाहरूलाई आपसमा गाभेर नगरपालिका बनाउने वा साविकका गाउँपालिकालाई नजिकैको नगरपालिकामा समाहित गर्ने योजना अघि सारिएको छ।
स्थानीय तहहरूबाट प्रदेश सरकार हुँदै मन्त्रालय पुगेका ९७ वटा विभिन्न प्रस्तावहरूका अतिरिक्त नेपाल नगरपालिका संघले समेत दुई महिनाअघि नै यस विषयमा छुट्टै अध्ययन प्रतिवेदन पेश गरिसकेको छ। यसै सन्दर्भमा संघीय मामिला मन्त्रालयले हालै मात्र स्थानीय तहको संख्या र सीमा हेरफेर सम्बन्धी मापदण्डको मस्यौदा सार्वजनिक गर्दै सातै प्रदेश सरकारहरूसँग तीन दिनभित्र सुझाव माग गरेको छ। सरकारले यी प्रस्तावहरूमाथि आवश्यक मापदण्ड तयार गरी प्रक्रिया अघि बढाउने तयारी गरेपछि स्थानीय स्तरमा प्रशासनिक पुनर्संरचनाको नयाँ बहस सुरु भएको छ।

