बलात्कार आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। काठमाडौंको बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिएका छन्।

अमेरिकामा अध्ययनरत एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका सम्बन्धमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको एसएसपी थापाले बताए।

बलात्कारको आरोप लागेसँगै लम्साललाई उनी छायांकनरत चलचित्र ‘पाँच पाण्डव’ बाट पनि निष्कासन गरिएको छ। चलचित्रको निर्माण ब्यानर कालारानी फिल्मस् प्रालिले शुक्रबार नै विज्ञप्ति जारी गरेर उनलाई निष्कासन गरिएको जानकारी दिएको हो। जघन्य अपराधमा स्वयं पीडित युवतीले नै आरोप लगाइसकेपछि आपतकालीन बैठक बसेर आरोपित सागर लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गरिएको निर्माण पक्षले जनाएको छ।

विज्ञप्तिका अनुसार ‘पाँच पाण्डव’ मा सागरको ९० प्रतिशत दृश्य खिचिसकिएको भए तापनि अब उनी फिल्मको हिस्सेदार नरहने र उनी संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नहुने निर्माण ब्यानरले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज