काठमाडौं । सहकारीको अर्बौं रकम हिनामिना गरेको गम्भीर आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गौतम श्री बहुउद्देश्यीय सहकारी र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका गरी ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गौतम श्री सहकारीका व्यवस्थापक रविन विष्ट रहेका छन् भने गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सदस्य अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा गौतम श्री सहकारीमा ४ हजार ७ सय ९१ जना बचतकर्ताको ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार रुपैयाँ बचत रहेको पाइएको छ, जसमध्ये २ अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ रुपैयाँ मात्र ऋण प्रवाह भएको देखिए पनि बाँकी अर्बौं रकम र सोसँग सम्बन्धित कागजातको कुनै विवरण प्रहरीले फेला पार्न सकेको छैन।
त्यसैगरी, १० हजार ५ सय ९८ बचतकर्ता आबद्ध रहेको गोरखा सहकारीको अवस्था पनि उस्तै भयावह देखिएको छ। यस संस्थामा ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेकोमा मात्र १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ र बाँकी रकमको कुनै हिसाब भेटिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रवाह भएको ऋणसमेत कमसल धितो, बिना धितो र बैंकमा पहिले नै रोक्का भइसकेका धितोलाई आधार बनाएर लगानी गरिएका कारण असुली हुन नसकेको र अन्ततः बचतकर्ताको रकम फिर्ता गर्न नसकिएको खुलेको छ। हाल पक्राउ परेका सबै अभियुक्तहरूमाथि अदालतबाट म्याद थप गरी हिनामिना भएको बाँकी ठूलो परिमाणको रकम र गायब पारिएका विवरणका सम्बन्धमा प्रहरीले थप अनुसन्धानलाई तीव्रता दिएको छ।

