राजनीतिक प्रतिशोधको अन्त्य हुनुपर्छ : रास्वपा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी पुनः पार्टीको सक्रिय जिम्मेवारीमा फर्कने स्पष्ट गरेको छ । पार्टीले उनको विषयलाई तत्कालीन सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधसँग जोड्दै त्यसको अन्त्य हुनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

शुक्रबार जारी विज्ञप्तिमा रास्वपाले लामिछानेमाथि लगाइएका मुद्दाहरू आधारहीन रहेको दाबी गर्दै ती मुद्दा तत्कालीन निरंकुश शासनकालमा राजनीतिक उद्देश्यले अघि बढाइएको जनाएको छ । पार्टीका अनुसार उक्त प्रक्रियाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको छ ।

वर्तमान नागरिक सरकारप्रति भरोसा व्यक्त गर्दै रास्वपाले विगतमा सुरु गरिएको प्रतिशोधको अभ्यासलाई अन्त्य गर्न आवश्यक कदम चालिने अपेक्षा गरेको छ । विज्ञप्तिमा राजनीतिक प्रतिशोधका नाममा गरिएका कारबाहीहरूले शासन प्रणालीलाई कमजोर बनाउने उल्लेख गर्दै निष्पक्ष र स्वतन्त्र न्यायिक प्रक्रियाको माग गरिएको छ ।

पार्टीले कानुनको सम्मान गर्दै सभापति लामिछाने पार्टी संगठन सुदृढीकरण र राजनीतिक जिम्मेवारीमा फर्कने तयारीमा रहेको पनि जनाएको छ । रास्वपाले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन प्रतिशोध होइन, संवाद र विधिको शासन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज