काठमाडौं । सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेलाई धरौटीमा छोड्ने आदेश दिएको हो। पाँडे बुधबार पक्राउ परेका थिए।
एक महिलाले सामाजिक सञ्जालमा आफूलाई गालीगलौज गरिएको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अनुसन्धानका लागि प्रारम्भिक चार दिनको म्याद थप गरेको थियो।
पर्यावरणविद् समेत रहेका पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। पार्टी सत्ता गठबन्धनमा सहभागी भएपछि उनी २०८० सालमा राष्ट्रिय योजना आयोगका सदस्य समेत नियुक्त भएका थिए।

