‘सेटिङ’ मा साढे २ अर्बको संस्थागत लुट, कामदार मात्र ठगिएनन्, देशको विदेशी मुद्रा सञ्चितिमै प्रहार

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने गरिब श्रमिकमाथि भएको साढे दुई अर्ब रुपैयाँको ठगी प्रकरणमा राज्य संयन्त्रकै उच्च नेतृत्व र प्रशासनिक अधिकारीहरूको ‘संस्थागत मिलेमतो’ खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार दुई पूर्वश्रममन्त्री र चार उच्च कर्मचारीलाई पक्राउ गरेसँगै यो प्रकरण केवल निजी व्यवसायीको ठगी मात्र नभई नीतिगत भ्रष्टाचार र अर्थतन्त्रविरोधी अपराध भएको तथ्य बाहिरिएको हो ।

सिआइबीले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल, उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

नेपाल र मलेसिया सरकारबिच भएको श्रम सम्झौतामा कामदारबाट अतिरिक्त शुल्क उठाउने कुनै प्रावधान नै थिएन । तर, मेडिकल व्यवसायी कैलाश खड्काको योजनामा सन् २०७६ देखि ‘बायो मेडिकल (बिएमएस) सिस्टम’ का नाममा प्रतिव्यक्ति १०० रिंगेट (करिब ३ हजार ६ सय रुपैयाँ) अतिरिक्त असुल्न थालियो ।

सिआइबी प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार करिब साढे ७ लाख श्रमिकबाट यसरी साढे २ अर्ब रुपैयाँ असुलिएको छ । श्रमिकको रगत–पसिनाको कमाइ लुट्न श्रम मन्त्रालयको तत्कालीन नेतृत्व र कर्मचारीतन्त्रले नै कानुनी र प्रशासनिक ‘कवच’ प्रदान गरेको अनुसन्धानको निचोड छ । अवैध असुली रोक्नुपर्ने निकायले उल्टै सम्झौताको अपव्याख्या गर्दै व्यवसायीको पक्षमा निर्णय गरिदिएको प्रहरीको ठहर छ ।

यो प्रकरणको अर्को गम्भीर पाटो देशको विदेशी मुद्रा सञ्चितिमा पुर्‍याइएको नोक्सानी हो । श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको साढे २ अर्बमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ श्रम मन्त्रालयकै स्वीकृतिमा बैंकिङ प्रणालीमार्फत वैधानिक बाटो देखाएर मलेसिया पठाइएको थियो ।

प्रहरीका अनुसार अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा विदेश पठाउन सघाएर देशको अर्थतन्त्र प्रतिकूल काम गरिएको छ । अझ रोचक त के छ भने, बैंकिङ प्रणालीबाट मलेसिया पठाइएको उक्त रकम पछि हुन्डीमार्फत अवैध रूपमा पुनः नेपाल भित्र्याउने गरिएको सूचना अनुसन्धान अधिकारीहरूले फेला पारेका छन् । यसले रेमिट्यान्स भित्र्याउने श्रमिकको पसिनाको पैसालाई नै प्रयोग गरेर देशको विदेशी मुद्रा अपचलन गर्ने गिरोह सक्रिय रहेको पुष्टि गर्छ ।

 

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज