काठमाडौँ । विभिन्न विवाद र ह्वाट्सएप म्यासेज प्रकरणमा नाम जोडिएपछि केही समय इजलासबाट टाढै रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरू तिहारको बिदा सकिएसँगै नियमित इजलासमा फर्किएर न्यायिक कार्यसम्पादनमा जुटेका छन्।
प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयालले तिहार र छठ पर्वको लामो बिदापछि मंगलबारदेखि औपचारिक रूपमा इजलास सञ्चालन गरेका छन्। प्रधानन्यायाधीश डा. शर्माले नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग संयुक्त इजलास गठन गरी मुद्दाहरूको सुनुवाइ थालेका छन् भने अर्का न्यायाधीश हरि फुयालले नवनियुक्त न्यायाधीश गोकर्ण डाँगीसँग इजलास साझा गरेका छन्।
केही साताअघि विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल तथा डिजिटल उपकरणको फरेन्सिक जाँचका क्रममा विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँगको संवाद बाहिरिएको थियो। उक्त संवादमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालको समेत नाम जोडिएपछि न्यायपालिकाभित्र र बाहिर यसले बहस सिर्जना गरेको थियो।
घटना सार्वजनिक भएलगत्तै प्रधानन्यायाधीश डा. शर्माले इजलासको साटो न्याय प्रशासनसँग सम्बन्धित अन्य प्रशासनिक काम मात्र सम्हाल्दै आएका थिए भने न्यायाधीश फुयालले केही दिनको बिदा लिएका थिए। यसैगरी, विवादमा नाम जोडिएकी अर्की न्यायाधीश शारंगा सुवेदीले पनि केही समयका लागि इजलासबाट अलग रहने निर्णय गरेकी थिइन्।
कानुनी तथा न्यायिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र प्रश्नहरू उठाइए पनि संवैधानिक प्रक्रिया र अदालतको नियमित सञ्चालनलाई निरन्तरता दिँदै ती न्यायाधीशहरू पुनः इजलासमा फर्किएर न्यायिक जिम्मेवारी निर्वाह गर्न थालेका हुन्। यस कदमले रोकिएका मुद्दाहरूको सुनुवाइ प्रक्रियालाई समेत गति दिने विश्वास गरिएको छ।
न्यायाधीशहरूको इजलास फिर्तीसँगै सर्वोच्च अदालतको दैनिक कार्यभार नियमित गतिमा फर्केको छ र यसले न्याय सम्पादन प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

