भारतको सर्वोच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध अपमानजनक टिप्पणी गर्ने अधिवक्ता बाहिर निकालिए

काठमाडौँ । भारतको सर्वोच्च अदालतमा इजलासको मर्यादाविरुद्ध अपमानजनक टिप्पणी गर्ने एक अधिवक्तालाई सुरक्षाकर्मीले अदालत कक्षबाट बाहिर निकालेका छन् ।

घटना सोमबार दिउँसो भएको हो जहाँ एक अधिवक्ताले आफ्नो मुद्दा तत्काल सुनुवाइको माग गर्दै प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जयमाल्य बाग्ची र न्यायाधीश भी. मोहना सम्मिलित इजलाससमक्ष कागजात पेस गर्न दबाब दिएका थिए। निर्धारित प्रक्रिया र समयसीमा पूरा नगरी अदालतमा अभद्र व्यवहार गरेपछि इजलासले स्थिति नियन्त्रणमा लिन आदेश दिएको थियो।

अधिवक्ताले प्रधानन्यायाधीशको कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यक्तिगत आक्षेप र अपमानजनक शब्दावली प्रयोग गरेपछि अदालतको प्रत्यक्ष प्रसारणसमेत तत्कालका लागि बन्द गरिएको थियो। इजलासका अन्य न्यायाधीशले उनलाई नियमसंगत रूपमा उपस्थित हुन सम्झाए पनि उनी आफ्नो अडानमा कायम रहँदै अमर्यादित अभिव्यक्ति दिएका थिए।

सुरक्षाकर्मीहरूले उनलाई बल प्रयोग गरी अदालत कक्षबाट बाहिर निकालेका थिए। सो क्रममा प्रधानन्यायाधीशले ती अधिवक्ता सर्वोच्च अदालत बार एसोसिएसनको सदस्य नरहेको र यसअघि पनि अदालतप्रति अनादरपूर्ण गतिविधिमा संलग्न रहेको स्पष्ट पारेका थिए।

यस किसिमका घटनाले न्यायिक स्वतन्त्रता र अदालतको अवहेलनासम्बन्धी कानुनी व्यवस्थालाई थप कडा बनाउनुपर्ने बहसलाई जन्म दिएको छ। यसअघि पनि अदालत परिसरमा यस्तै प्रकारका अनुशासनहीन घटनाहरू हुँदै आएका छन्।

यस घटनापश्चात सर्वोच्च अदालत बार एसोसिएसनले अदालतको अवहेलनामा कडा कानुनी कारबाहीको माग गरेको छ जसले कानुनी क्षेत्रमा गम्भीर चासो उत्पन्न गराएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज