आन्तरिक वायुसेवा दायित्व विधेयक: १५ मध्ये १३ संशोधन स्वीकृत, भाडा नबढ्ने पर्यटन मन्त्रीको दाबी

काठमाडौँ । राष्ट्रिय सभामा प्रस्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा सांसदहरूले दर्ता गराएका १५ मध्ये १३ वटा संशोधन प्रस्ताव समेट्दै सरकारले कार्यान्वयनको तयारी थालेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक तथा दफाबार छलफल सम्पन्न भएसँगै विधेयकलाई परिमार्जित रूपमा अघि बढाइएको हो।

संसद्‌मा दर्ता भएका संशोधन प्रस्ताव र विधायन व्यवस्थापन समितिबाट प्राप्त सुझावहरूलाई आत्मसात् गर्दै विधेयकलाई थप स्पष्ट र व्यावहारिक बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले जानकारी दिए। ऐनका प्रावधानहरूमा दोहोरो अर्थ नलागोस् र सर्वसाधारणले सहजै बुझ्न सकून् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा विशेष ध्यान दिइएको उनले बताए।

विधेयक पारित भएपछि हवाई भाडा वृद्धि हुने आशङ्कालाई खारेज गर्दै मन्त्री पौडेलले यस कानुनले यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई सर्वोपरी राख्ने दाबी गरे। भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विधेयक कार्यान्वयनको पूर्वतयारी आजैबाट सुरु गरिने जानकारी गराए।

यसैबिच, छलफलका क्रममा सांसदहरूले उठाएको सचेतना र प्रचारप्रसारको विषयलाई सम्बोधन गर्दै सरकारले तत्कालै राष्ट्रव्यापी सचेतना योजना सुरु गर्ने प्रतिबद्धता जनाएको छ। यात्रुहरूलाई आफ्ना अधिकार र वायुसेवा कम्पनीहरूलाई उनीहरूको दायित्वबारे सुसूचित गराउन विभिन्न सञ्चार माध्यमहरूमार्फत व्यापक जानकारी गराइने मन्त्रालयको तयारी छ।

सम्बन्धित समाचार

ताजा न्यूज