बालपनको जग बलियो बनाउन नीतिगत स्पष्टता अनिवार्य: विद्यालय शिक्षा विधेयकमा इसिडिलाई प्राथमिकता दिन सरोकारवालाको जोड

काठमाडौँ । बालबालिकाको सुनौलो भविष्य निर्माणको मुख्य आधार मानिने प्रारम्भिक बाल शिक्षा (ECD) लाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन स्पष्ट नीतिगत व्यवस्थाको माग गरिएको छ। एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को आयोजनामा काठमाडौँमा सम्पन्न ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ का वक्ता तथा सरोकारवालाहरूले विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

उक्त राष्ट्रिय सम्मलेनमा शिक्षा क्षेत्रका नीति निर्माता, सांसद, विज्ञ तथा शैक्षिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा ‘इसीडी पोलिसी रिभ्यु एन्ड फ्युचर डिरेक्सन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्वसचिव डा. महाश्रम शर्माले नेपालमा शिक्षाको आधार नै इसिडि भएकाले स्पष्ट र समयसापेक्ष नीति नहुँदा यसको महत्त्व अझै प्रस्ट्याउन नसकिएको बताए। उनले नेपालको सन्दर्भमा इसिडिको विकासका लागि सरकारको विशेष प्राथमिकता हुनुपर्नेमा जोड दिए।

त्यस्तै, अपेनका केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहराले निजी र सार्वजनिकमा पढ्ने भनेर विभेद नगरी सबै बालबालिकाको भविष्यको जग राम्रो बन्नुपर्छ भनेर अपेनले प्रमुखताका साथ उठाउने गरेको बताए।

संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचन प्रमुख अतिथिका रूपमा रहेको उक्त कार्यक्रममा अध्यक्ष बोहराले बालबालिकाले बाल्यकालमै गुणस्तरीय सिकाइको समान अवसर पाउनुपर्ने धारणा राखे।

कार्यक्रममा अपेनका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार बद्रिप्रसाद दाहालले बालबालिकाको शिक्षा मात्र नभएर समग्र क्षेत्रको विकासका लागि विगत १० वर्षदेखि अपेनले काम गरिरहेको बताए। उनले तीनै तहका सरकारले बालबालिकाको समग्र विकासका लागि बन्ने नीतिहरूमा एकरूपता कायम गर्दै यसलाई उच्च प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा सांसदहरू गुरुप्रसाद बराल र रन्जु दर्शना, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्ले, शैक्षिक अभियन्ता अभिषेक घिमिरे र इसिडि विज्ञ डा. मीनाक्षी दाहालले पनि आ-आफ्ना महत्त्वपूर्ण धारणा राखेका थिए। छलफलका क्रममा बन्दै गरेको संघीय विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाको स्पष्ट संरचना, उद्देश्य र सञ्चालनका मापदण्डहरू कानुनी रूपमै समेटिनुपर्ने विषय उठाइएको थियो।

साथै, प्रारम्भिक तहमा पढाउने शिक्षक तथा शिक्षाकर्मीहरूको व्यावसायिक दक्षता, तालिम र उनीहरूको भूमिकालाई राज्यले स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने, प्रारम्भिक तहलाई केवल विद्यालय प्रवेशको तयारी मात्र नभई बालबालिकाको बौद्धिक, सामाजिक, भावनात्मक र नैतिक विकासको बलियो नीभ बनाउनुपर्ने विषयमा समेत व्यापक बहस भएको थियो। विगत एक दशकभन्दा बढी समयदेखि बालबालिकाको सिकाइ र समग्र क्षेत्रको विकासका लागि क्रियाशील अपेनले आयोजना गरेको यस सम्मेलनले आगामी दिनमा बन्ने शैक्षिक नीतिहरूलाई थप परिष्कृत, व्यावहारिक र बालमैत्री बनाउन महत्त्वपूर्ण घच्घच्याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज