अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने, नियमावली राजपत्रमा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले ‘नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३’ नेपाल राजपत्रमा प्रकाशित गरेको छ। २०८३ असोज १५ गते प्रकाशित राजपत्र अनुसार अब आफूले नागरिकता लिएको जिल्लाबाहेक अन्य जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन सकिने कानुनी व्यवस्था गरिएको छ।

नियमावलीमा थप गरिएको नियम १६घ अनुसार, नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेका नागरिकले नागरिकता जारी भएको जिल्ला बाहेक अन्य जिल्लाबाट प्रतिलिपि लिन चाहेमा अनुसूची-१८ बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछन्।

निवेदनका साथ नागरिकता प्रमाणपत्रको सक्कल वा प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेश गर्नुपर्नेछ।

निवेदन प्राप्त भएपछि सम्बन्धित अधिकारीले निवेदकको विवरण र जैविक विवरण (बायोमेट्रिक) नागरिकता सूचना व्यवस्थापन प्रणाली तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गर्नेछन्। विवरण यकिन भएपछि प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रतिलिपि जारी गर्न सक्नेछन्।

यसैगरी, नियमावलीको नियम १६ङ मा नागरिकता प्रमाणपत्रका सम्बन्धमा स्थानीय तहले गरेको सिफारिसको मान्य अवधि जारी भएको मितिले ३५ दिनसम्म मात्र रहने व्यवस्था समेत गरिएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज